१९६) अल्लाहको लागि हज र उमरा सम्पन्न गर, हो, यदि तिमीहरूलाई रोकिहालोस् तब जस्तो किसिमको बलि गर्न सक्छौ, गरिहाल । जबसम्म बलि आफ्नो ठाउँमा पुग्दैन, तबसम्म आफ्नो कपाल नफाल तर यदि तिमीहरूमध्ये कोही बिरामी छ, अथवा त्यसको टाउकोमा कुनै प्रकारको व्यथा छ, (र मुन्डन गराइदिन्छ) त त्यसको बदलामा व्रत बसोस् वा दान गरोस् वा कुर्बानी (बलि) गरोस् । फेरि जब तिमी अमनको अवस्थामा रहँदा (तिमीहरूमध्ये) जसले उमराको बेलादेखि हजसम्म लाभान्वित हुन चाहन्छ उसमा क्षमता छ भने कुर्बानी गरोस् र जसलाई कुर्बानी गर्ने क्षमता छैन उसले तीन दिनको उपवास हजका दिनहरूमा पूरा गरोस् र सात दिनको रोजा आफ्नो घर फर्केपछि । यी पूरा दश दिन भए । यो आदेश ती मानिसका लागि हो जो मक्काका बासिन्दा होइनन् । अल्लाहसँग डर्ने गर, र यादराख कि, अल्लाह कठोर सजाय दिनेवाला छ ।